सुरक्षा निकायलाई हाईअलर्टमा बस्न प्रदेश २ का मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम, २६ असार । मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुनसक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनिकरणलाई तयारी अवस्थामा बस्न निर्देशन दिनु भएको छ ।

जोखिम न्यूनीकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तैयारी बारे जानकारी लिदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले जोखिम न्यूनीकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिनु भएको छ ।
बैठकमा आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

Comments