‘भारतसँग असाधारण संवादहीनता’

काठमाडौँ — आठ महिनाअघि भारतले आफ्नो नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मकै नेपाली भूभागलाई समेटेयता दुई मुलुकबीच संवादहीनता बढेको छ । तर दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बिहीबार ट्वीटमार्फत एउटा सन्देश दिए, ‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नुपर्ने कुरा भन्ने हो । त्यो भएको छ । बोलिएको छ, भनिएको छ ।’

तर यो बोलिएको, भनिएको कुरा के हो, धेरैलाई थाहा छैन । परराष्ट्र मन्त्रालयलाई पनि ‘अन द रेकर्ड’ केही जानकारी छैन । राजदूतको ट्वीट–सन्देशपछि दिल्लीस्थित नियोगबाट पाएको सूचनामा ‘भारतसँग अरू पक्षमा संवादहीनताको स्थिति आइसकेको छैन तर अहिले उब्जिएको सीमावर्ती विवाद र नयाँ नक्सालाई लिएर भने आठ महिनायता कुनै संवाद भएको छैन ।’

उद्योग, वाणिज्य, आयात–निर्यातका सबै विषयमा संवाद जारी छ तर नयाँ राजनीतिक नक्साबारे ‘संवादहीन’ स्थिति छ । शनिबार अपराह्न कान्तिपुरसँगको कुराकानीमा राजदूत आचार्यले भने बाहिर टीकाटिप्पणीमा आएजस्तो ‘संवादहीन’ स्थिति नरहेको जिकिर गरे । ‘विविध पक्षमा कुराकानी भइरहेकै छ, यत्ति हो– अहिले उब्जिएको सीमावर्ती मामलामा औपचारिक ढंगमा कुराकानी हुन सकिरहेको छैन,’ उनले भने । कूटनीतिमा भए/गरेका सबै कामकुरा सार्वजनिक सञ्जालमा ल्याएर बहस गर्नुको अर्थ नरहेको उनको भनाइ छ । जस्तो, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्छीका बारेमा भ्रामक समाचार दिने जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले यस प्रकरणमा गल्ती स्विकार्नुमा पनि दिल्ली दूतावासकै भूमिका थियो । राजदूत आचार्यले राज्यसभा सदस्यसमेत रहेका जी न्युजका सञ्‍चालक सुभाष चन्द्रा गोयन्कासँग फोनमा कुराकानी गरेपछि उनले त्यो ‘अनर्थ’ सच्याउने र अब यस्तो घटना नदोहोरिने प्रतिबद्धता जनाएका थिए ।


कूटनीतिज्ञ डा.भेखबहादुर थापा भने ‘भारतसँग इतिहासमै यो तहको संवादहीन स्थिति’ नरहेको दाबी गर्छन् । ‘कूटनीतिक तहमा दिल्लीस्थित राजदूतले भन्ने कुरा भनेको छु भन्नुभएको रहेछ तर हामीले भनेका कुरालाई भारतले के–कसरी सम्बोधन गरेको छ भन्नेबारेमा हामी अनभिज्ञ छौं,’ उनले भने, ‘भारतसँग सम्बन्ध र संवाद विस्तार गर्न नेपालले कूटनीतिक पहल गर्दै आएको हो तर यसको जवाफमा ‘मौनता’ मात्रै आएको छ । यसरी हाम्रो सम्बन्धको आधारलाई अप्ठ्यारोमा पुर्‍याएको भारतले हो, यो निकै आपत्तिजनक कुरा हो ।’

यो समस्या समाधान र संवादको बाटो खुलाउन दुवै देशको पहलकदमी जरुरी रहेको भन्दै डा.थापाले भने, ‘कुनै सूचना र संवादबिनै सुरुमा नक्सा निकालेको र अतिक्रमणको संकेत दिएको भारतले हो, हामीले हाम्रो हक कायम गर्नैका लागि पछि मात्रै नक्सा निकालेका हौं । एकातर्फ द्विदेशीय घनिष्ठ सम्बन्धबारे चर्चा गर्ने, अर्कातर्फ नाकाबन्दी लगाउने अथवा संवादहीन बस्ने अवस्था ठीक होइन ।’

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भारतसँग बढेको संवादहीन स्थितिमा गम्भीर समीक्षा गर्ने बेला आइसकेको भनेर आन्तरिक बैठकमा पनि छलफल भइरहेकै छ । ‘राजनीतिक नेताहरूले बोल्नका लागि बोल्नेभन्दा पनि शान्त कूटनीतिको उपाय अपनाउनुपर्छ भनेर हामीले परराष्ट्रमन्त्रीलाई सुझाएका छौं, कुनै थिंक–ट्यांक वा द्विदेशीय सम्बन्धको व्यक्तिगत तहबाट ‘ट्र्याक–टु’ कूटनीतिक उपाय अवलम्बन गर्नुपर्छ । दिल्ली नियोगको सुस्ततामा पुनर्मूल्यांकन हुनुपर्छ, ‘ब्याकडुवर नेगोसिएसन’ का लागि पहल हुनुपर्छ भनेका छौं,’ ती अधिकारीले भने ।

चीनका लागि पूर्वराजदूत डा.महेश मास्केको बुझाइमा ‘नेपालको राजनीतिक परिदृश्यमा जुन किचलो देखापरेको छ, त्यसको समाधान नभएसम्म कूटनीतिक पहल सार्थक हुने देखिँदैन ।’ सुरुमा आफ्नै घरलाई व्यवस्थित (हाउस इन अर्डर) राख्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘त्यसपछि आफ्नो खुट्टामा आफैं उभिने सबै प्रकारका आर्थिक र सामाजिक प्रयत्नको ऐक्यबद्धताले मात्रै नेपालको कूटनीतिक पहललाई सफल बनाउने सामर्थ्य राख्छ ।’

Comments